मित्रताको डोरीको चमत्कार

 




 




सबै जना केटाकेटी एक अर्कालाई मित्रता दिवसको अवसरमा फ्रेण्डसिप ब्यान्ड( मित्रताको डोरी) बाँधिदिँदै, एक अर्कालाई गिफ्ट,मिठा मिठा चकलेट साटासाट गर्दै रमाई रहेका थिए। कक्षामा प्रवेश गर्ने बित्तिकै सबै बालबालिकाहरूले तछाड मछाड गर्दै मलाई पनि मित्रताको डोरी बाँध्न हतार गर्दै थिए। कसको हातमा धेरै फ्रेण्डसिप ब्यान्ड भन्ने प्रतिस्पर्धा जस्तै थियो। मेरो हातमा पनि अनेकौं रङ्गका ब्यान्डहरु सजिएका थिए।

अकस्मात् मेरो नजर त्यही कक्षाको एउटी छात्रामाथि पर्न गयो। सधैंभरी कक्षामा सबैलाई थर्काउने,कोही कोहीसँग नडराउने स्वभाव भएकी, झट्ट हेर्दा रूपमा त्यति सुन्दर नभएकी, पढाइमा पनि कमजोर भएकी हुँदा आकृतिको  खासै कोही मिल्ने साथी थिएनन्।त्यस मित्रता दिवसको दिन उनको हातमा कुनै पनि फ्रेन्डसिपको ब्यान्डहरु बाँधिएका थिएनन्। कक्षाको डनको रूपमा मानिने,सानातिना कुरालाई त्यति चासो नदिने आकृति त्यसदिन भने मलिन अनुहारमा कक्षाको अन्तिम बेन्चमा बसिरहेको पाए। आकृतिको मलिन आकृति देख्ने बित्तिकै मैले उनलें के महसुस गरेको सहजै पत्ता लगाइसकेकाे थिए। 'Happy friendship day Aakriti' तिमी र म आज देखि साथी। साथीले भनेको सबै कुरा मान्नु पर्दछ है' भनी वाचा गराई उनको हातमा आफूसँगै भएको मित्रताको डोरी बाँधिदिए। उनी केहि बोल्नै नसकी आँखाभरि आँशू बनाई मलाई अंकमाल गर्न लागिन्। खुसीले मेरा पनि आँखाभरी आँशु छचल्किएका थिए। कक्षाको सबै बालबालिकाहरुलाई आजदेखि आफ्नो मिल्ने साथी ( बेस्ट फ्रेन्ड) आकृति भएको जानकारी गराए।
कक्षामा सबै बालबालिकाहरूलाई मित्रताको परिभाषा, महत्त्व बुझाए।
सबै जना असाध्यै हर्षित मुद्रामा देखिन्थे। कोहीसँग नमिल्ने आकृति आफ्नो शिक्षकको बेस्ट फ्रेन्ड भएको हुँदा कोही केटाकेटीहरुमा इर्श्याको भावना पनि देख्न सकिन्थ्यो।

त्यस दिनको भोलि पल्ट उनले दिएको सबै गृहकार्य गरेर आएकी थिइन्। पढाइमा अति कमजोर, खासै हाम्रा अक्षर बनाउन पनि नजान्ने हुँदा लेखेको कुरा मुस्किलले बुझ्न मात्र सकिन्थ्यो।तर पनि पढाइमा चासो नै नदेखाउने त्यो बालिकाले नियमित गृहकार्य गरेर विद्यालय आउँदा ठूलै प्रगति गरेको पाएको थिए। नियमित रूपमा आफ्नो साथीले भनेको मान्नुपर्छ भन्ने वाचा उनको मनमा यसरी बिझेछ कि उनले हर कुरा मान्न तयार भएकी थिइन।
विद्यालय आउना साथ आफ्नो बेस्ट फ्रेन्डलाई भेट्न असाध्यै हतार हुन्थिन्। मलाई देख्न साथ हाई भन्दै हात हल्लाउँदै अंकमाल गरी हल्थिन र आफ्ना सुनाउनु पर्ने सबै कुराहरु बेलीबिस्तार लगाउँथिन्। समय पाएसम्म उनी त्यो समय म सँग नै बिताउन चाहन्थिन्।उनमा आएको त्यो परिवर्तन देखेर म असाध्यै हर्षित थिए।
शिक्षक साथीहरूलाई पनि त्यस दिनको कहानी सुनाए।उनलाई सुधार्नको लागि नियमित अभिभावकसँग छलफल, विभिन्न तरिकाले सम्झाउँदा साथै गाली गर्दा पनि पढाइमा सुधार गर्न नसकिएको आकृतिको  पछिल्ला दिनमा व्यवहार परिवर्तन हुँदै गएको सुनाउनुभयो। आमूल परिवर्तन नआएपनि केही सुधार आएको थियो।
दिन,महिना साथै वर्ष पनि बित्यो। आकृतिलाई ४ वर्ष दैनिक २-२ ओटा विषय पढाउने अवसर मिलेको थियो। ४वर्ष सम्म पढाउँदा आकृति धेरै नै नजिकिएकी थिइन् म सँग। साथी मात्र नसोची आफूलाई अभिभावक जसरी नै सबै कुराहरु निर्धक्क भन्न सक्दथिन।सबै बालबालिकाहरूको मनोवैज्ञानिक भावना बुझ्दै उनीहरूलाई आवश्यकतानुसार परामर्श,सल्लाह सुझावहरु दिँदै शिक्षण  गरिरहन्थे।

समय परिवेशले मैले विद्यालय परिवर्तन गर्ने बेला आयो।त्यस विद्यालयको अन्तिम दिन हामीलाई छाडी नजानु है भन्दै प्रायः बालबालिकाले आँखा भरी आशु राखी भनेको वचन अझै पनि मनमा ताजै छ। आकृतिको मलिन अनुहारको म शब्दमा बयान गर्नै सक्दिनँ। जो सँग पनि खुल्न नसक्ने स्वभावकी आकृति एउटा अभिभावक,मिल्ने साथी पाएकी थिइन् उनले। उनमा आफ्नो मिल्ने साथी गुमाउँदाको पीडा सजिलै महशुस गर्न सक्दथे।
दिन,महिना अनि वर्षहरू बित्दै गए । फरक विद्यालय भएको हुँदा कहिले काहि मात्र पुरानो विद्यालयमा जाने गर्दथे। जाँदा ती बालबालिकाहरूको सामिप्यता पहिलेको जस्तै महसुस गर्दथे।
एउटै विद्यालय नभएको हुँदा आकृतिसङ्गको सम्पर्क पनि पातलिँदै गएको थियो।

एवम् रीतले त्यो विद्यालय छाडेर गएको पनि १० वर्ष भैसकेको थियो।
फेरि मित्रता दिवस आयो, त्यसदिन मलाई खोज्दै मैले अध्यापन गर्ने स्कुलसम्म आएकी  एकजना किशोरीको आवागमनले मलाई अचम्मित बनायो।
म विद्यालयमा नै थिए । बालबालिकाहरुसँग सँगै हुँदा रमाउने म उनीहरू सँगै हाँस्दै हाँसखेल गरी रहेको थिए।
'Happy Friendship Day Pratima miss के हजुर मेरो साथी बन्न सक्नुहुन्छ?' त्यो आवाजले मलाई पुराना दिनको झझल्को मानसपटलमा ताजा गरायो।
१९वर्षकी उमेरकी, नर्सको पोसाक लगाएकी, चट्ट जिउडाल मिलेकी, लामो समयको अन्तरालमा झट्ट हेर्दा पहिचान गर्न गाह्रो भएपनि त्यो बोली बिर्सेको थिईन मैले। उनीतर्फ हात लम्क्याए। उनले फ्रेण्डसिपको डोरी मेरो हातमा बाँधिदिइन।
पढाइमा अति कमजोर आकृति स्टाफ नर्स बन्न सक्लिन भनेर कसैले अनुमान गर्नै सकेका थिएनौं। हजुरको त्यस दिनको फ्रेन्डसिप ब्यान्ड र हजुरको अर्ती उपदेशले आफू यो स्थानमा पुगेको कुरा बताउँदा मेरो खुसीले सगरमाथाको शिखर चुमिसकेको थियो।  मनमा शिक्षक भएर कसैको जीवन परिवर्तन गराउन सफल भएकोमा गौराबान्दित महशुस गरिरहे।
हामी शिक्षक भएर शिक्षण पेशा रोजिसकेपछि किताबका सैद्धान्तिक ज्ञान मात्र नरटाई उनीहरूको मनोवैज्ञानिक भावना पनि बुझेर कमजोर प्रकृतिको बालबालिकालाई सोही अनुसारको उपचारात्मक शिक्षण सिकाइ गराउन सकेमा आकृति जस्तै कमजोर क्षमता भएका बालबालिकाहरुले पनि जीवनमा आमूल परिवर्तन गर्न सक्नेछन् ।
सबै पेशाहरुको जननी नै शिक्षण पेसा हो। केहि शिक्षकहरुले शिक्षण पेसालाई लापरबाही गरेको कारणले नै शिक्षक प्रति हेर्ने नजर कमजोर बनेको हो। हुनत सरकारले शिक्षकहरुप्रतिको सेवा सुविधाको विभेदको कारणले आफ्नो पेसाप्रति नै सन्तुष्ट छैनन् तर पनि सर्वप्रथम शिक्षक बन्छु भनी शिक्षण पेशामा आवद्ध भएपछि आफ्नो पेसालाई सम्मान गर्न सक्नुपर्छ।
हुन त अत्याधिक विद्यार्थी भएको कक्षाकोठामा सबै बालबालिकाको मनिवैज्ञानिक क्षमता पहिचान गरी शिक्षण गर्नु सजिलो कार्य होइन तर पनि केही सुधारको आवश्यकता भएका केही बालबालिकाहरुको मनोवैज्ञानिक क्षमता पहिचान गरी शिक्षण गराउन सके सबै बालबालिकाहरुको भविष्य उज्ज्वल हुनेछ।

लेखक, प्रतिमा अधिकारी, श्री त्रिभुवन शान्ति मा. वि. , पोखरा - ३०,कास्कीमा अध्यापनरत शिक्षक हुनुहुन्छ।

Comments