"सबै ठिकै छ "




                    

"भर्खर त १९ वर्ष लागेकी छौ, कति जागीरको लागि मरिहत्ते गरेर पढेको पढ्येई गरेकी छौ? यो उमेरमा रमाइलो नगरेर कहिले गर्ने हो?"
" हामी नारीहरू आफ्नो जीवनमा आत्मनिर्भर बन्नुपर्दछ। हजुर १०वर्ष पहिले स्नातक सकेको मान्छे घर गृहस्थी भनी अल्झिनुभयो। अहिले ३५,३६वर्षको उमेर भएपछि प्रतिस्पर्धाको समयमा आयोग लड्दा नाम निकाल्न कति गार्हो भएको छ। म त पढाइसँगै स्थायी जागिर नभए सम्म त बिहे नै गर्दिनँ।"
आफूसँगै ट्युसन पढ्न आउने दिदीहरूलाई आत्मनिर्भर हुनुकोमहत्त्व बताउँदै सबैलाई पढ्नको लागि प्रोत्साहन गर्दथे। बाबा पनि स्थायी शिक्षक भएको हुँदा सानैदेखि शिक्षक बन्ने लक्ष्य राखेको थिए। कलेज घरबाट टाढा भएको हुँदा दिदीको घरमा बसी कलेज र शिक्षक सेवा आयोगको ट्युसन पढ्दै जसरी भए पनि पहिलो पटकमै आयोगमा नाम निकाल्नु पर्दछ भनी निरन्तर मेहेनत गरी पढ़थे।
दिदीको घरमा बस्दा दिदीले कहिले गाली गर्दै,कहिले सम्झाउँदै जागीरको महत््व सम्झाउँदाको पल अझै पनि मन मस्तिष्कमा ताजै छ। सोही अनुसार निरन्तर मेहेनत र आफूसंग भेट भएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाईलाई जीवनमा जतिनै कष्ट परे पनि आत्मनिर्भर बन्नुपर्ने सल्लाह र प्रोत्साहन गर्दथे।
सकारात्मक सोच, दृढ विश्वास र निरन्तर मेहेनतले सार्थकता पनि पयो। नभन्दै २०७१ सालको शिक्षक सेवा आयोगमा पहिलो प्रयासमा नै २०वर्षको उमेरमा स्थायी शिक्षक बन्ने लक्ष्य पूरा भयो।
लक्ष्य पूरा भएकोमा यति खुसी थिए कि,जुन व्यक्त गर्न शब्द नै पर्याप्त छैनन्।
बाबा आमाकी एक्ली छोरी, घरमा खासै दुःख कष्ट केही गरेकी थिइन्। घरबाट ३ घण्टा टाढा,जहाँ पुग्दा २घण्टा हिँड्नुपर्ने,ढुक्कले एक छाक खाना पनि मुस्किल,उही बस्ने अनुकूल वातावरण पनि नभएको ठाउँमा जागीरको नियुक्तिले मनमा बेचैन उत्पन्न हुन शुरू भयो।
जागिर निल्नुन ओकल्नु जस्तो भयो मलाई। तर आफ्नो आत्मनिर्भर बन्ने सपना पूरा भएको हुँदा जति नै दुःख कष्ट परेपनि जागिर गरेरै छाड्ने अठोट गरे।
केही समय दुःख गरेपछि विस्तारै सरुवाको प्रक्रिया पूरा गरी सुगम वा घरपायक ठाउँमा जान सकिन्छ नी भन्ने सल्लाह पाए पश्चात शिक्षण पेशामा कर्तव्यनिष्ठ बनी लागि परिरहे।
सरुवाको प्रक्रिया पनि कहाँ सजिलो छ र, दुवै तिरको विद्यालय, वि. व्य. स., वडा, पालिका तथा जिल्ला लगायतका सयौं जनालाई विन्ती गर्दा पनि मुस्किलले सरुवा हुन सकिने। त्यही पनि आफूलाई राहत होला भनी सम्बन्धित ठाउँमा आफ्ना दुःख पिरहरू राखिरहे। त्यसको १वर्ष पछि सरुवा भयो, तर पहिलेको विद्यालय पुग्दा ३घण्टा लाग्दथ्यो भने पछि १.३०घण्टा। ठिकै छ यति भए पनि केही राहत भयो भनी सहयोगी सबैप्रति आभार प्रकट गर्दै सुख दुःख जीवन निर्वाह गर्दै गए।
भगवानले दुःख बुझ्नु भएछ की त्यही विद्यालय नजिकको ठाउँमा बिहे भयो। दुखी जागिरे जीवनमा घरपायक बनेको हुँदा केही राहत महसुस गरेकी थिएँ।
घर परिवारबाट पनि एकदमै सहयोग गर्नुहुन्थ्यो। स्नाकोत्तरको पढाइ पूरा भए सँगै अब प्राथमिक तहमा मात्र अल्झेर मात्र नभइ निम्न माध्यमिक र माध्यमिक तहमा पनि नाम निकाल्नु पर्छ भनी आयोग तयारी गर्दा निम्न माध्यमिक तहमा  नाम पनि निस्कियो।
केही समय मात्र घरपायक जागीरको सुखद अनुभूति लिएकी म थोरै मात्र तलबको अन्तर रहेको उपल्लो तहमा नाम निस्कँदा घर छाडी जाने कि प्रा. वि. मैं सिमित रही बस्ने कुराले अत्यन्तै दोधार बनायो। जति नै दोधार बनेबनी निर्णय लिनु पर्ने दिन नजिक आई सकेको थियो।
क्षमता,योग्यता र मेहेनतमा विश्वास गर्ने म उपल्लो तहमा नाम निस्कँदा नियुक्ति नलिइ बस्न मनै मानेन। आफ्नै जिल्लामा नै नियुक्ति लिने अवस्था मिलेको हुँदा जे जस्तो परे पनि सहने दृढ विश्वासका साथ आफ्नै जिल्लाको एक दुर्गम ठाउँको एक माध्यमिक विद्यालयमा नियुक्ति लिई जीवनको अर्को अध्याय शुरू गरे।
२बर्षकी सानी छोरी, विदेशीएका श्रीमान, त्यो अपरिचित ठाउँ, पातलो बस्ती, जङ्गल नजिक पुराना असुरक्षित लाग्ने घरहरू, बर्खामा गाडी पनि मुस्किलले जाने त्यस्तो ठाउँमा आफ्ना दिनचार्या कति कष्टकर साथ बिताए व्यक्त गर्दा आशु यसै छचल्किएर आउँछन्। असहज समयमा पनि त्यहाँ एउटै घरमा बस्दा सहयोग गर्ने मेडम, छिमेकी, गुरुगुरुआमाहरुलाई मनै देखि सम्झन चाहन्छु।
यातायात सहज हुँदो हो त त्यति कष्टकर समय पनि हुँदैनथ्यो होला। उमेरमा कच्चा नै थिए । त्यो दुर्गम स्थान, विरामी सानी छोरी, दुरको अस्पताल, गर्भवतीआफू,विदेशी श्रीमान, घर परिवारबाट टाढा बसी एक्लै सहनु साच्चै नै पीडादायक थियो मेरा लागि।
परिवर्तित आधुनिक जमाना, शिक्षित भनाउदा मानिस, आत्मनिर्भर महिला भनिएता पनि समाज अझै अन्धविश्वासमा नै जरो गाडेर नै बसेको छ कि जस्तो लाग्दछ। पहिलो सन्तान छोरी भएको हुँदा जसरी पनि दोस्रो सन्तान जन्म दिनै पर्ने, त्यही पनि छोरो नै हुनुपर्ने जस्तो समाजको र परिवारको अप्रत्यक्ष रूपमा दबाब रहेको महसुस गर्दथे। सोही अनुरूप दुई सन्तान इश्वरका वरदान स्वरुप छोरा छोरी जे भए पनि दुर्गम ठाउँको जागिर भएपनि घर तथा समाजको मुख टाल्न भए पनि मैले दोस्रो सन्तानलाई जन्म दिनुपर्ने नै थियो। मुस्किलले रहेको  कोखको सन्तान पनि दुर्गममा हुँदा सकुशल जन्म दिन सक्दिनँ कि भन्ने मनमा छटपटी थियो। जागिर छाड्न नसके पनि सरुवा गरी घरपायक वा केही सुगम स्थानमा जान सकें जीवन केही सहज होला कि भन्ने झिनो आशा थियो। आफूलाई माया गर्ने, समस्या बुझिदिने सम्बन्धित व्यक्तिहरूलाई रोई, कराई आफ्नो पीडा व्यक्त गरिरहेँ। तर भने जस्तो सजिलो कहाँ हुँदो रहेछ र!
कसैले केही क्षण सहानुभूति दिए पनि कसैले तिमी भन्दा अझै दुःख पाएका पनि छन्, पहुँच,पावर छ भने कोसिस गर, यहाँ जसको शक्ति उसको भक्ति रहेछ भन्ने जस्ता तिता मीठा बचनहरु सुन्दै आए। निम्न माध्यमिकको दरबन्दी नै कम हुने, आफ्नो विषय मिलाएर सरुवा गर्ने काम सजिलो पनि थिएन। जसरी भएपनि सरुवा हुनै पर्दछ भनी सम्बन्धित सबैलाई आफ्ना पीडा सुनाई राखे।भगवानले पुकार सुनिदिएछन, केही सहज ठाउँमा तर घर अपाएक ठाउँमा सरुवा हुने अवस्था सृजना बन्यो। भगवान रूपी सहयोगी व्यक्तिहरुलाई हृदयदेखि हार्दिक नमन टक्र्याउन चाहन्छु।
चाहें जस्तो सबै नभए पनि अब त केही राहत होला भनी जीवन चलाईराखेको थिए। सुत्केरी बिदा सकिएसँगै घर आपाएक विद्यालयमा  छोरो कसरी हुर्काउने भन्ने फेरि अर्को  पीडा बल्झिहाल्यो।
भनिन्छ जीवन संघर्ष हो, जीवनमा आएका उतार चढाव लाई धैर्यताका साथ अनुशरण गर्दै गए एकदिन सुखको श्वास फेर्न सकिन्छ। तर मेरो जागिरे जीवन भरी कहिल्यै आनन्दको अनुभूति गर्नै नै पाइन। आत्मनिर्भर त के कमाएको पैसा केही बचत गर्नु नसकी उल्टो घर परिवार बाट माग्नु पर्ने स्थिती सृजना हुँदै गयो। त्यो चार महिनाको छोरो घरमा छाड्न पनि नमिल्ने,घरको सदस्य मेरो डेरामा आई हेरिदिने पनि कोही नहुने, नमिल्ने साथै विद्यालयमा लैजानु पनि नमिल्ने, जागिर छाड्न पनि नसक्ने हुँदा विद्यालय नजिकै डेरा खोजी छोरो हेरिदिने मान्छे कसो नभेटिएला भनी विद्यालय नजिक सबैलाई आग्रह गरे। मासिक १० हजार रुपैयाँ दिने गरी मान्छे राखे। पर्याप्त स्याहारको कमीले छोरो दिन प्रतिदिन बिरामी हुँदै गयो। घरमा छाडेकी ४वर्षकी छोरी पनि आमाको न्यास्रोको कारणले दुब्लाउँदै गएकी थिई। उपचार खर्च, कोठा भाडा, हेरालो खर्च तथा घरायसी खर्च मेरो जागिरले धान्ने अवस्था थिएन। तर पनि मन बुझाई राखे। सपनाको जागिर र बुढेसकालको साहरा छोरा छोरी हुर्काउँदाको पीडा जे जति भएपनि एकदिन मेरो पनि उज्यालो छाउला भनी पर्खिरहे।
जागीरको १०वर्ष बित्नै लागेपनि अझै पनि घर अपाएक नै छु। मुस्किलले भेटिएको छोरो हेरिदिने मान्छेले पनि अब मैले नभ्याउने भए भन्दिने बित्तिकै फेरि अर्को बज्रपात पर्न पुग्यो। विद्यालय जाने उमेर नहुँदा सम्म जे जति कष्ट आइपरे पनि सहेर जागिर र सन्तान सँगसँगै हुर्काउनु नै थियो।
एकपटक रोई कराई अलि सहज ठाउँमा सरुवा  भए पनि साना छोराछोरी हुँदा सम्म १०वर्ष सम्म पनि घर अपाएक भएको हुँदा राहतको कुनैअनुभूति गर्नै नै पाइन। फेरी घर पाएक ठाउँको सरुवाको लागि मैले सयौं मानिस संग विन्ती गर्नुपर्ने हुन्छ। विन्ती गरेर मात्र  सरुवा हुने र घर परिवार संगसंगै रहने अवस्था हुने थियो भने जति नै झुकेर विन्ती गर्दथे तर पटक पटक मेरो मात्र विन्ती सुनिदिने अब कोही छैनन्। एकछिन सहानुभूति देखाए पनि बल्ल खाइस् भन्नेको केही कमी पनि छैन यहाँ।
म,सरकार, शिक्षा संग सम्बन्धित निकाय तथा व्यक्ति लाई यो शिक्षक सरुवा प्रक्रिया अत्यन्त सहज बनाउनको लागि अनुरोध गर्न चाहन्छु कि पहुँचवाला व्यक्ति एक पटक मिलाए पछि सधैं सुगम स्थानमा र पहुँच नहुने व्यक्ति जीवन भर रोएरै दुर्गम ठाउँमा जीवन कटाउनु पर्ने अवस्थाको अन्त्य होस्। मानिसलाई नाम निकाल्नु भन्दा सरुवा प्रक्रिया झन्झटिलो हुनाले एक तह निकालें पछि माथिल्लो तह पढ्नै छाड्नु पर्ने अवस्था सृजना नहोस्। निश्चित अन्तरालमा  सरुवा हुने प्रक्रिया कार्यान्वयन होस्।सुत्केरी बिदा पश्चात घरमा हेरिदिने कोही नहुँदाको विशेष अवस्थामा सम्बन्धित  विद्यालयमा नै त्यो शिशु लैजान मिल्ने व्यवस्था मिलोस्।  अपाङ्ग व्यक्तिहरु तथा महिलालाई समस्याको आधारमा विशेष सुविधाको सृजना होस् ताकि हेपिएको शिक्षण पेशामा प्रति आकर्षित व्यक्ति पनि जागिरे जीवनबाट सन्तुष्ट जीवन बिताउन सकुन् नकी कुन दिन यस्तो पेशा रोजेछु भनी धिकार्दै बस्ने दिन नआओस।
मानिस हरेक पिडाहरु सहँदै आएपछि कठोर बन्दै जादो रहेछ। सबैलाई सानैमा आत्मनिर्भर हुन प्रोत्साहान गर्ने मानिस पनि पीडित भएपछि घरपरिवारको सँगैकोसाथ नै महत््वपूर्ण र सन्तान हुर्काए पछि मात्र जागिर आट्नु पर्ने सल्लाह दिने हुँदो रहेछ। जतिनै कष्ट परेपनि आजकाल के छ खबर संचिता भनी सोध्दा मनभरी पीडा लुकाई ओंठमा फिक्का हाँसो राखी भन्ने गर्दछु"सबै ठिकै छ।"

Comments