हो, म एक एस.एल.सी. फेल

     

जीवन भोगाई हो। यसलाई भोग्ने क्रममा मानिसले विभिन्न उतारचढाव, सफलता, असफलता, हाँसो, रोदन आदिलाई आत्मसाथ गरिरहन्छ । हो, म त्यही जीवनको S.L.C. फेल हुँदाको मोड देखि आजको यो अवस्था सम्म आइपुगेको छु। वि. सं. २०५९ सालको S.L.C परीक्षा दिइसकेपछि जीवनलाई विभिन्न रंगहरुले रंग्याउने आशाका साथ बितेका ती ३ महिना जसले जिन्दगीको उडानलाई उचाईमा पुर्याउने लक्ष्य लिएको थियो।
तर S.L.C. को नतिजा सँगै उचाइबाट एक्कासी भुईमा बजारिएको त्यो सपना रूपी उडान अझै पनि यी आँखाहरूमा छर्लङ्ग भएर आउँछ। त्यसपछि विश्राम लिएका आँखाहरूमा टिलपिल टिलपिल गर्दै छचल्किएको आँशुको मूल्य शायदै कुनै पनि बहुमूल्य वस्तुभन्दा बढी थियो ।
त्यो पल आजपनि मानसपटलमा घुमिरहन्छ।
फलामे गेटको रुपमा रहेको परीक्षाको असफलता पछि मनमा ठूलो चोट परेको थियो। अनेकौं मनमा नकारात्मक कुरा पनि मनमा आए।
बुवाले यसले पढेर नखाने भयो भनी अब त इंडिया जानुपर्छ अनि उतै काम गर्नु पर्दछ भनेको वाक्य सम्झदा अहिले पनि झसङ्ग हुन्छ। त्यसको साथसाथै छिमेकी र साथीभाई अनि इष्टमित्रहरुले हानेको कटाक्ष पूर्ण शब्दहरूको तीर आजसम्म ताजै छ।
सो समयमा एक जना छिमेकी मामाले भनेको त्यो वाक्य सम्झिदा अहिले पनि शरीरमा काँडा उम्रन्छ, मन भारी हुन्छ अनि आँखाहरू अनायसै भिज्न  थाल्छन।
नतिजा आएको ३/४ दिन पछि घर नजिकै रहेको पसलमा केरा किन्न जाँदा उहाँले बोलेको त्यो वाक्य " फेल भएको उपलक्ष्यमा केरा बाँड्ने हो क्या भान्जा " ले त्यो बेलाको कमजोर मानसिकतामा कस्तो असर पर्यो होला तपाईं अनुमान लगाउन पनि सक्नुहुन्न। शायदै मेरो ठाउँमा अरु कोही भएको भए के गर्थ्यौ होला भन्ने मनमा लागिरहन्छ। उहाँको त्यो वचनलाई नकारात्मक भन्दा सकारात्मक रूपमा लिएर त्यसैलाई ऊर्जा बनाएर अघि बढ्ने कोसिस गरे।
त्यसपश्चात उहाँले भनेका विषरूपी वचनलाई अमृतमा परिणत गर्न कडा मेहनतका साथ अघि बढ्दै जाँदा अर्को सालको S.L.C परीक्षाको नतिजामा प्रथम श्रेणीमा उत्तीर्ण हुँदाको खुसी म शब्दबाट बयान गर्न असमर्थ छु।
त्यो पल मेरो लागि संसारकै सबैभन्दा ठूलो खुसी थियो।
३ घण्टे परीक्षालाई अंकनको आधारमा मूल्याङ्कन गरिदिंदा बिबिध कारणले परीक्षामा कम अंक ल्याउँदा वा फेल हुँदा त्यो विद्यार्थीहरुमा पर्ने मानसिक असर र समाज र परिवारले ती विद्यार्थी प्रति हेर्ने  दृष्टिकोणलाई हालको लेटर ग्रेडिङ प्रणालीबाट केही सहज भएको छ कि जस्तो लाग्दछ।
त्यसपछि कक्षा ११/१२मा विद्यालय प्रथम हुँदै स्नातकोत्तर सम्म राम्रो अंकमा उत्रिण भई हाल नेपाल सरकारको प्राथमिक तहको तृतीय श्रणीको स्थायी जागिर सम्मको यो क्षण जीवनको अविस्मरणीय क्षण को रुपमा लिएको छु।
कहिलकाहीँ नकारात्मक टिप्पणीलाई पनि सकारात्मक ऊर्जाको रूपमा लिई अघि बढ्दा सफलता प्राप्त गर्न सकिन्छ। तर त्यसैलाई नै इगोको रुपमा लियो भने जीवनमा नराम्रो घटना पनि घट्न सक्छ भन्ने कुरा बुझ्नु जरुरी छ।
अहिलेका युवा तथा केटाकेटीहरु जीवनमा आफूले भने जस्तो भएन भने सुसाईड गरिहाल्ने जीवनमा आई परेका दुःखलाई  संघर्ष गर्दै अगाडि बढ्ने क्षमता नै घट्दै गएको देखिन्छ।
आफूले त्यो असफलता पछि पाएको सफलता देख्दा सम्पूर्णलाई भन्न मन लाग्दछ कि जीवन एक संघर्ष हो। यहाँ हाँसो, खुसी, दुःख, पीडा लाई आत्मसाथ गर्दै अगाडि बढ्न सक्ने मानिस मात्र सफल मानिस बन्न सक्छ। असफलतामा आतिन्नु र गलत कदम कहिल्यै चाल्नु हुँदैन किनकि जीवन अमूल्य छ।
सफलता र असफलता जीवनका दुई पाटा हुन। असफलता पछाडि पनि सहनशीलताको साथ धैर्य अनि कडा मेहेनत गर्नु सके एकदिन सफलता प्राप्त हुन्छ भन्ने कुरालाई मध्येनजर गरी सकारात्मक सोच र विश्वासका साथ अघि बढ्न सके पक्कै पनि जीवन सरल, सहज र अर्थपूर्ण बन्दछ।
लेखक श्री प्रकाश लामिछाने श्री जनशिशु कल्याण आधारभूत विद्यालय, तनहुँ का शिक्षक हुन।





Comments