अब हाम्रा सन्ततिहरुलाई कुन बाटो रोज्न लगाउने त?




शैक्षीक सत्रको अन्त्यमा शुभकामना तथा बिदाई कार्यक्रम सम्पन्न पश्चात साथीहरु छुट्टिने बेलामा ' खाडीमा भेटौला" " कोरियाको यात्रा सफल रहोस् "आदि जस्ता अत्यन्तै मर्मस्पर्शी शब्दहरू आफ्नो साथीहरुको सटमा लेखी खिचीएको तस्बिर हाल समाजिक सञ्जालमा अत्यन्तै भाइरल भएको छ।
फुर्सदको समयमा कहिलेकाहीं लेख लेख्न मन लाग्ने बानी मेरो,यो तस्बिर पश्चात केही नलेखी मनै मानेन।
प्रत्येक मानिसहरूका अा आफ्ना जिन्दगीको आफ्नै रहरहरु र बाध्यताहरु हुन्छन्। सायदै आफ्नो मातृभूमिमा आफ्ना परिवार, इस्टमित्र साथै साथीभाईहरुसँग सँगै खेल्दै रमाउँदै आफ्नो ठाउँ तथा देशको विकास गर्ने रहर प्रायः सबैको हुन्छ होला नै। तर अफसोच वर्षेनी लाखौं युवाहरु विदेश गई धन कमाई परिवारको इच्छा तथा आवश्यकता पूरा गर्न विदेशीएको समाचारले मन छिया छिया हुन्छ। नविदेशीएर पनि के गर्नु हाम्रो जस्तो देशमा बसेर?
देशको अर्थतन्त्र, राजनैतिक, शैक्षीक अवस्था दिनप्रतिदिन सुधार हुनुभन्दा झन् झन् कमजोर बन्दै गएको छ। लाखौं शिक्षत व्यक्तिहरू रोजगारकोलागि विभिन्न संघ संस्थामा आफ्ना बर्षौं मेहेनत गरी कमाएको सर्टिफिकेट बोकी हिँड्दा निन्याउरो मुख लगाई फर्कनु परेको छ।
निजी संघ संस्थाले योग्यता अनुसारको जागिर नदिएर के भयो त वर्षेनी खुल्ने लोकसेवा आयोगमा कुनै ५ कोटाको लागि १००००को आवेदन परेनी निरन्तर लागि रहे कसो सफल नहोला भनी लागि नपरेको पनि होइन।
१६, १७पटक निरन्तर असफल भई सफल भएका हरि दाई यो स्थायी जागिर छ भनेर मात्र के गर्नु भाइ यो महंगीको समयमा परिवारको इच्छा तथा आवश्यकता, आफ्नो जिविको पार्जन गर्न धौ धौ भएको हुँदा विदेशिने सोच आएको छ भनी सुनाउँदा आफू पनि १२पास गर्ने बित्तिकै विदेश पस्ने सोच नआएको पनि थिएन।
हामी जस्तो युवाले देशमै बसी मेहेनत गरे यही केही गर्नु सकिन्छ भनी सोच भएका, विद्यालय उमेर देखिनै मेहनती,इमान्दार तथा जेहेन्दार दिनेश काका निरन्तरको मेहेनत पछि शिक्षक सेवा आयोगको परीक्षा बाट उत्रिड हुन सफल हुन्छन्।कमजोर आर्थिक अवस्था भएका उनी बिहान बेलुका खेती किसानी साथै ट्युसन कक्षा चलाउँदापनी परिवारको आधारभूत आवस्यकता पूरा गर्दा गर्दा भत्किएको घर मर्मत गर्न नसक्दाको अवस्थामा १२ पास हुन नसकी कतार गएको सुरेश साथीले सररर पल्सर बाइकमा चढेर आई ए तिमी त स्थायी जागिरे भएछौ नी ठूलै प्रगति गरेछौ भन्दा आफूलाई गिज्याई राखेको अनुभूति नभएको पनि होइन भन्दछन् दिनेश काका। ४वर्षमा नै सुरेशले भने घडेरी किनी दुई तला घर बनाई सकेको थियो।
घर मर्मत नगरी भएन भनी बैंक तथा संचयकोषबाट ऋण लिई घर मर्मत गरेका दिनेश काका " जीवनमा आफ्नै देशमा बसी एउटा आफ्नो घर बनाउने सपनाले बाँकी सारा सपना अधुरै हुने भए। जीवन किस्ता तिर्दैमा बित्ने भयो।" भन्दछन्।
समाजमा यस्ता यस्ता घटना देख्दै आईरहेका युवा पिढीहरु पढाइमा अलि बढी अब्बल हुने बित्तिकै U. K. ,U. S.A, Australia, Canada, आदी देशहरू त अलि कमजोर भएका हरु साउदी, दुबई, कतार, जाने हो नेपालमा बसेर राम्रो भबिस्य नै छैन किन मरी मेट्ने भन्ने सोच विकास भई सकेको छ। देश निर्माणको लागि सम्पूर्ण प्रकारका जनशक्तिहरु देशमा नै उत्पादन  गरी उनीहरूले चाहे अनुसारको रोजगारको अवसरहरु दिनको लागि सरकारले बेलैमा ध्यान पुर्याउन अति जरुरी छ।
हुनत हाम्रो देशको शिक्षा प्रणाली व्यवहारिक भन्दा पनि सैदान्तिक शिक्षामा जोड दिने भएको कारणले यस्तो समस्याहरू उत्पन्न भएको हुन। हाल प्राविधिक शिक्षाको पढाइ विभिन्न विद्यालयमा हुँदै आईरहेको छ। तर पनि यो व्यवहारिक, जिबनोपयोगी, प्राविधिक शिक्षा सानै कक्षाबाट हुन जरुरी छ।
जुन व्यक्तिको जुन क्षेत्रमा बढी रुचि छ, उसलाई सोही क्षेत्र तर्फ प्रोत्साहन तथा अवसरको बाटोहरु खुलाउन सम्बन्धित निकाय हरुले गहिरो अध्ययन गरी महत्त्वपुर्ण भूमिका निर्वाह गर्नुपर्नेछ।
ताकि समाजका सुरेश, राम, हरिहरु पढाइमा कमजोर भई सीपको कमीको कारणले सानै उमेरदेखि विदेशिने सोच आई नरहोस्।
साथै त्यही समाजका दिनेश जस्ता पात्रहरू जुन स्वदेशमै केही गर्नु पर्दछ भन्ने  सोच भएका व्यक्तिहरुमा निश्चित योग्यता अनुसारको रोजगारको सुनिश्चितता, देशमै राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था, कम आर्थिक ब्याजदरमा ऋण सुविधा, आदि जस्ता पक्षहरुमा सम्बन्धित निकाय तथा सरकारले आवश्यक कदम चलाउन सके कुनै पनि दिनेश, हरि, राम जस्ता बेक्तीहरु १८,१९ वर्षकै उमेरदेखि आफ्नो परिवार मातृभूमि छाडी त्यो खाडीमा भेटौला भन्ने सोच मानसपटलबाट नै हट्ने थियो।
अन्न्येथा स्वदेशमै केही गरौं केही गर्नु पर्दछ भन्ने सोच भएका व्यक्तिहरुले पनि आफ्नो सन्ततिहरुको भबिस्य सुनिश्चितता को लागि सोही बाटो रोज्ने दिन नआउला भन्न सकिन्न।



Comments