एक व्यस्त शहर ।
जहाँ मानिसहरू हरदिन आफ्नो गन्तव्यमा पुग्नको लागि तछाँडमछाँड गर्दै हिँडिरहेका हुन्छन् ।
सोही भीडमा एकदिन म पनि आफ्नो गन्तव्यमा पुग्नको लागि बसको पर्खाइमा हुन्छु ।सबै मानिसहरू आ आफ्नै काममा व्यस्त देखिन्छन् ।पर्खाइको क्रममा म अनेक प्रकृतिका मानिसहरूको दिन चर्या, रहनसहन नियालिरहेको हुन्छु।त्यही क्रममा करीब २०,२२ उमेरको एक युवक हातमा एक कागज तेर्स्याऊदैं दिदी मलाई केही सहयोग गरिदिनु, घरको स्थिती यस्तो यस्तो छ भन्दै आइपुग्छन्।तिमीहरू हातखुट्टा भएको मानिस मागेर खानु लाज लाग्दैन,काम गरेर खाउ भन्दै म फिर्ता पठाइदिन्छु।माग्दै आउने सबै बालक,वृद्ध,महिलालाई १०-५ रुपैयाँ दिएर पनि उनीहरूले त्यो पैसा जाँड रक्सी,चुरोट लगायतका चीजहरू खान प्रयोग गरेको देख्दा,सुन्दा, मलाई आजकल यिनीहरुलाई पैसा दिन मन लाग्दैन।
बस आउन निकै समय लागेको हुँदा प्रतिक्षाको समय बस पार्कमा लामै हुन्छ।अचानक एक अधबैँसे उमेरको मानिस निन्याउरो अनुहार लगाउँदै,"बहिनी, म तराई देखि आएको एक जना मानिसले जागिर लगाइदिन्छु, पृथ्वी चोक आऊ लिन आउँछु भनी हिजो देखि आएको लिन पनि आएको छैन,फोन सम्पर्कमा पनि आएको छैन, चिनेको यो नौलो ठाउँमा कोही पनि छैन,पैसा केही नभएर हिजो देखि केही खाएको पनि छैन,कसैले माग्दा पनि सुनेको नसुनेझैं गर्छन् ,५०रुपैयाँ दिनुस् न।"
यहाँ सबै प्रकृतिका मानिसहरू छन,मागेर खान पल्केकाहरु यस्तै अनेक बहाना बनाउँदै आउँछन् दिने की नदिने भन्दै दोधारमा हुँदै साच्चै खानै नखाएको हो भने केही राहत होलाकी सोच्दै ५०रुपैयाँ पनि दिन नसकी २० रुपैयाँ दिँदै जानुस् नजिकैको पसलमा गई बिस्कुट खानुस् भन्दै उसले के के गर्दो रहेछ भनी नियाल्दै बस्छु।
पुरानो कपडा, छिन्नै लागेको चप्पल लगाएर त्यो ४०,४५उमेरको मानिस पैसा पाउने बित्तिकै आँखा भरी आँशु बनाउँदै,आशु पुच्दै त्यहाँ बाट बाटो लाग्छ नजीकको पसलमा तिर। अझै पनि विश्वास लाग्दैन,नाटक गरेको होकी के होला के गर्छ होला भन्दै उसको चियो गरिरहन्छु। साच्चै नै पसलमा गई बिस्कुट किनी पसलको छेउमा बसी बलिन धारा आँशु खसाल्दै बिस्कुट कपाकप खाएको दृश्यले उसलाई मागेको जति दिन नसकेकोमा हृदय छिया छिया हुन्छ।
अचानक बसको हर्न सँगै झस्किन्छु अनि लाग्छु बसमा चडि आफ्नो गन्तव्य तिर।
बसमा चढने बित्तिकै साना साना सडक बालबालिका दिदी मलाई केही पैसा दिनुस् न बिन्ती भन्दै खुट्टा नै समात्दै आउँछन् ।कति जनालाई के के दिउँ भन्दै सुनेको नसुनेझैं गर्न बाध्य हुन्छु।
यात्राको क्रममा उसको अनुहार झल्झली सम्झिरहन्छु,के गर्यो होला,कहा गयो होला,कसैले सहयोग गरे की गरेनन् होला,झन् आफूले ५० मागेको ठाउँमा खानाको लागि पैसा दिन नसक्नुको पीडा झन् बल्जिरहन्छ दिनैभरी।
मानव भएर आफूमा मानवता नभएको होकी भन्ने महसुस गरिरहन्छु ।
हुनत बाटो,चोक,बसपार्क लगायतका ठाउँहरुमा यस्ता मगन्ते,सडक बालबालिका,वृद्ध,महिला,शारीरिक रूपमा अशक्त, अपांगहरु, अनाथहरु कयौ भेटिन्छन्। सामान्य आय भएको म जस्तो मानिसले आफ्नो काम विशेषले यात्रा गर्दा भेटिएका यस्ता माग्दै आफ्नो गुजारा चलाउने सबै व्यक्तिहरुलाई सहयोग गर्दै जाने हो भने एक दिन आफै माग्दै हिड्ने पर्ने अवस्था नआउला भन्न सकिन्न।
सडकमा भेटिएका केही मगन्तेहरुले झूटा कागजहरु देखाउँदै साच्चिकै होकी जस्तै पारी सहयोग पश्चात अनैतिक कार्यहरु जस्तै जाँड, रक्सी, चुरोट पिउँदै हिँडेको देख्दा, सुन्दा दिनु भन्दा नदिनु उचित हुन्छ भन्ने लागे पनि कोही साच्चिकै पीडित पक्षहरु त्यसको चपेटामा पार्न बाध्य त छैनन् भन्ने आज लाग्दैछ।
कोही पनि मानिस यत्तिकै माग्दै हिडेको पक्कै पनि होइन होला।माग्दै हिड्नेहरु कोही परिवार बेगर भएका,कोही अनाथ जसको आमा बाबुको कुनै पत्तो छैन,कोही सुस्त मनस्थिती भएका,कोही प्राकृतिक विपत्तिमा परेका,कोही शारीरिक रूपमा अपाङ्ग,कोही परिवारको उपचार गर्नको लागि त कोही ठगी खान पल्केकाहरु नै हुन।
सडकमा भेटिने गरेका यस्ता व्यक्तिहरूको समस्या एक दैनिक यात्रा गर्ने व्यक्ति,एक सहरलाई मात्र नभई समग्र महानगर अनि सिंगो राष्ट्रकै समस्या हो।
एक यात्रा गर्ने व्यक्तिले एकजनालाई २०,४०,१००रुपैयाँ दिएर यो समस्याको समाधान हुनेवाला छैन।
प्रत्येक मानिसको गास, बास,कपास लगायतका न्यूनतम आधारभूत आवश्यकताहरुको सुनिश्चितता सरकारले गरी दिन सक्नु पर्छ।
यस्ता बेवारिसे मानिसहरूको लागि रेस्टुरेन्ट/ होटल / क्याटरिङजस्ता सस्थामा दिनहुँ बाकिँ रहेर खेर जाने खानालाइ व्यवस्थापन गरि सडक- मानिसहरुको खानपानको निशुल्क व्यवस्था गर्ने,धर्मशाला पाटी पौवा जस्ता सामुदायिक भवनहरुलाई यस्ता वेवारिसे मानिसहरुको आवसको रुपमा पुननिर्माण गर्ने,सडकमा आई वेवारिसे भएका मानिसहरुको वास्तविक पहिचान खोजी उनिहरु वास्तवमै घरबार बिहिन भएका हुन् वा अलपत्र परेका हुन पहिचान गरि सोहिअनुसार व्यवस्थापन गर्ने नीति राज्यले लिनुपर्ने देखिन्छ।
जसको लागि कुनै सरकारी निकाय,संघसस्था, गैरसरकारी संस्था बाट कस्ता कस्ता प्रकृतिका मानिसहरू सडकमा बस्न,माग्दै हिड्न बाध्य छन्,माग्दै हिड्नु पर्नेका कारणहरू के के हुन्, तिनीहरूलाई कहा कसरी व्यवस्थापन गरी समस्या समाधान गर्न सकिन्छ उचीत अनुगमन गरी आवश्यक नीतिहरु तय गरी अगाडि बढ्नु पर्ने देखिन्छ।
यस्ता मानिसहरूलाई व्यवस्थापन गरी कुनै रोजगारी मुलक सीपहरु, आवास,शिक्षा, स्वास्थ्यको सुनिश्चितता कुनै निकायले प्रदान गरिदिन सके प्रत्येक मानिसको जीवन शैली पनि परिवर्तन भई समग्र देश विकासमा थप सहयोग हुने देखिन्छ।।
लेखक श्री त्रिभुवन शान्ति नमुना मा.वि को शिक्षक हुन ।

Comments
Post a Comment