"अहिले त शिक्षा आयोगमा धेरै नै कोटा खुलेको छ।तयारी त राम्रै होलानी तिम्रो?"
"अलि अलि त पढीराछु तर खासै राम्रो तयारी भने छैन सर ।"
"किन त? कति बोर्डिङ्गस्कूलको जागिर खाएर मात्र बस्छौ,तिमी त बिद्यालय तहको मेहनती,जेहेन्दार छात्रा,पहिलेकै आयोगमा नाम निकाल्नु पर्ने,अब नि बेला त बितेको छैन,अवसर नि सधैं सधैं आउँदैन। राम्रो सँग कस्सिएर पढी तयारी गर।तयारी पुगे सम्भावना बढी छ यो बेला नाम निस्कने।मेरो लागि भएपनि पढिदेऊ।"
"पढ्ने त आफ्नै लागि होनी सर।"
"आफ्नै लागि भएपनि एउटा शिक्षकको आफ्नो असल,जेहेन्दार विद्यार्थीप्रतिको चाहना पनि हुन्छ नि। त्यो तिमीले पूरा गरेर देखाउनुपर्छ।"
"हवस् सर।सानो बाबु नानी,घर परिवार प्रतिको जिम्मेंवारी,दिनमा जागिर जस्ता कारणले गर्दा समय व्यवस्थापन गरी एकचित्त भई पढ्न सार्है गार्हो भएको छ। सरले मेरै भबिस्यको लागि भन्नुभएको हो,त्यो म महसुस गर्न सक्छु ।आफ्नो पनि स्नातकोत्तर तह उत्तीर्ण भईसकेपछि मा.वि कोटामा नाम निकाल्ने रहर नभएको पनि कहाँ हो र?तर पनि खै भाग्यले साथ नदिएको होकी,मेहेनत नपुगेको होकी,इच्छाशक्ति नभएको हो बुझ्नै सकेको छैन सर। "
"हरेस खानु हुँदैन नानी, एकपटकमा नभए पटक पटक मेहेनत गरी दिँदा एकदिन ढिलोचाँडो आफ्नो लक्ष्यमा अवश्य पुग्न सकिन्छ। अब देखि मेरो लागि भएपनि बिहान सदाको झै केहि समय छिटो उठेर भएपनि पढ्ने गर है।तिमी जस्तो शिक्षकको खाँचो छ यहाँ।तिमी जस्तो मान्छेले गरेर देखाउनु पर्छ।"
विद्यालय तहमा पढ्दा जेहेन्दार छात्रा भएको हुँदा शिक्षक हरुले आफ्नो विद्यार्थीको सफलता देख्न चाहनु एक असल शिक्षक को विशेषता नै हो।उहाँको मेरो लागि भएपनि पढिदेउ है भन्ने शब्दले मनमा धेरै कुरा खेलिरहे। घर,परिवार, इस्टमित्र, शिक्षकहरुआदि सम्पूर्णको आफू प्रतिको चाहना साथै आफ्नो पनि लक्ष्य मा.वि तहको शिक्षक हुने भएको हुँदा अब त जति नै अप्ठ्यारो परिस्थिति परे पनि पढ्छु भनी लाग्दछु। एकछिन किताब निकाली बसी पढ्न लाग्दा साना छाेरा छाेरी ममी मलाई भोक लाग्यो,बहिनीले दिशा गरिन् धोई दिनुन,मेरो कपडा लगाई दिनुन आदि जस्ता उनीहरूका आवस्यकता पूरा गर्नु पर्दा केहि मिनेट पढेको कुरा पनि छिनभरमै बिर्सनु कुनै नौलो कुरा भएन।
प्रतिस्पर्धाको समयमा नाम निकाली सरकारी जागीर खानु अब फलामको चिउरा चपाउनु बराबर नै भएको छ । धेरै युवा पिढी बेरोजगार छन्। प्राइभेट जागीरमा कम तलबमा बढी खटिनु पर्ने,समयमा तलब नपाउने साथै बढी दबाबमा काम गर्नुपर्ने जस्ता कारणले प्राइभेट जागीर प्रति धेरैको वितृष्णा बढ्दै गईरहेको छ। मानिसले लोकसेवा भन्दा शिक्षक सेवामा नाम निकाल्न सजिलो हुन्छ भने पनि हालको समयमा व्यापक पाठ्यक्रम र प्रतिस्पर्धीहरु उच्च हुनाले सानो तिनो मेहेनतले सफलता हासिल गर्छु भन्नु सपना मात्र हो। सफलता हासिल गर्न निरन्तर लगनशील भई विषयवस्तुको गहिराइमा डुबेर अध्ययन गर्नु अति नै जरुरी छ।
बिहान बेलुका चुलो चौको,घर सरसफाई, दिनभर जागीरको थकान,साना केटाकेटी को सबै आवश्यकत पूरा गराई,घरको सबै धन्दा सकेर,अनि केटाकेटीलाई सुताएर आफ्नो इच्छा पूरा गर्न अब त समय व्यवस्थापन गरी एकाग्र भएर पढ्छु भनी लाग्यो थकित शरीर अनि तनाव ग्रस्त मस्तिष्कले के सम्झनु?मनमा अनेक कुरा खेल्न पुग्छन्,अनि सोच्दा सोच्दै किताब सिरानी राखी त्यही निदाउन पुग्छु।सपनामा पनि उहाँ सर ले भनेको कुरा झल्झली देखि बिहान छिटै उठ्छु। अब एक छिन पढेर उठ्छु अनि खाना बनाउने काम गर्नु पर्ला भनि पढ्न लाग्दा साना केटा केटीहरूले भोक लाग्यो,एसो भयो उसो भयो भन्दा कसरी पढ्न सक्नु।भयो अब एकछिन काम गरी पढ्छु भनी लाग्छु आफ्नो नियमित कार्य तिर।
बिहे भएपछि एउटी बुहारीले घरको प्रत्येक सदस्यलाई खाना बनाई खुवाउनु पर्ने,घर सरसफाई, इस्ट मित्रको मान राख्नै पर्ने आदी जस्ता कार्य पूर्खौ देखि चली आएको परम्परा नै छ हाम्रो समाजमा।यी सबै काम सकी पढ्नु बस्दा साना अबुझ केटाकेटीले गरेको कचकच साथै थकान पनाले शारीरिक आलस्यता ले एकाग्र भएर पढ्न कसरी सकिन्छ खै?
मेरो एकजना सहकर्मी साथीले भन्दै थिईन, "पढ्ने रहर भए जाबो खाना बनाई,घरको सानो तीनों काम गरी,छाेरा छाेरी हेर्दै पनि पढ्न नि सकिहालिन्छ नि भन्दै बस्छन् घरका"ती शब्दले ती थकित शरीर र तनावग्रस्त महिलाको मनमा कस्तो असर पर्ला कसले बुझ्ने ?आफ्नो घरको छाेरा जागीर खाएर आएर मस्त मोबाईलमा मात्र व्यस्त भई घरमा पकाएको खाएर यस्तो पकाएको भनी उल्टो दोष लगाई चुठेर मात्र बस्दा केही नहुने तर त्यही घरमा कुनै अर्काकी छोरी आफ्नै घरकी बुहारी जागीर खाई आई घरको चुलो चौको,सरसफाई लगायत सम्पूर्ण कार्य गर्दा अलिकति पनि दया माया नपलाउने घरको सदस्यहरू कलियुगका दानव रूपी मानिस हुन् भन्दा केही फरक नपर्ला।आफूले त सहयोग गरेनन् गरेनन् बुहारीले घरको काममा आफ्नो श्रीमानलाई मिलेर काम गरौं यति सहयोग गर्दिनुन भन्दा बुढालाई काम गराउँछे,कस्तो जोइतिङ्गग्रे भएछ बुढिले जे भने त्यही गर्छ भन्दै समाजमा कुरा काट्न पछि नपर्ने सासु ससुरा पनि हुने भएकै कारणले गर्दा नै हो केही छाेरा बुहारी बाध्य भएर सहर झरी बस्नु पर्ने बाध्य भएको। आफ्ना घरका अरु सदस्यलाई त झन् यो सघाई दिनु भन्नु त परको कुरा भयो। बुहारीलाई छाेरी सरह वा घरको सदस्य जस्तै मानी ईज्जत गरे पो आफूले पनि सम्मान पाउँछन् भनी कहिले बुज्ने खै?सम्मान खोज्नेले सम्मान दिन पनि जान्नु पर्छ भन्ने बुझ्न जरुरी छ अब। उसका पनि रहर , इच्छा आवस्यकता र चाहनाहरु होलान् उसलाई नि साथ र सहयोगको खाँचो छ भनी कहिले बुज्ने खै?
समय धेरै परीवर्तन भईसकेको छ। महिलालाई हेर्ने दृष्टकोणमा पनि परिवर्तन आएको छ।सबै घर परिवारको सोच एकै किसिमको पनि छैन। बुहारीलाई पनि छाेरी सरह व्यवहार गर्ने कयौ घरहरू छन। उहाँहरुलाई उच्च सम्मान गर्नुनै पर्छ।अझै पनि परम्परागत तरिकाले बुहारीलाई दबाउनै पर्छ,यसले मात्र हामीलाई सम्मान गर्नु पर्छ,घरको सम्पूर्ण काम गरेर बाँकी रहेको समयमा मात्र आफ्ना रहर पूरा गर्नुपर्छ भन्ने सोच हुनेले यो सोच परिवर्तन गर्न अति जरुरी छ। यस्ता कयौ परिवार अझै पनि समाजमा छन।बाहिर आदर्शको नारा लगाएर घरमा दबाब दिने कयौ उदाहरणहरु छन् ।विवाहित महिला जसले यस्तो परिवार सामना गरी सबै कुरा व्यवस्थापन गरी आफ्नो सरकारी जागिर खाई आत्मनिर्भर हुने इच्छा राखी पूरा गर्नु भएको छ उहाँहरुलाई उच्च कदर गर्ने पर्छ।किनकि सबै व्यवस्थापन गरी लक्ष्य हासिल गर्नु सानो कुरा होइन।
स्कूल छदा सरले माकुरले घरको भित्ता चढ्न लाग्दा धेरै पटकको सङ्घर्ष अनि प्रयासले मात्र सफलता पाएको कथा याद गर्दै घर परिवारले साथ नदिएर के भयो त आफ्नो इच्छा पूरा गर्न निरन्तर लागि पर्छु भनी नलागेको पनि होइन।यो सरकारी जागिर भन्ने भाग्यमा पनि लेखेर आउनु पर्दो रहेछ कि लाग्दछ।घरपरिवारको जिम्मेंवारी पनि चटक्कै छाड्न नसकिने रहेछ। पारिवारिक जिम्मेंवारी,छोराछोरी प्रतिको उत्तरदायित्व,आर्थिक अभाव,जागीर प्रतिको समय व्यवस्थापन,पटक पटक परीक्षा दिँदा भएको सफलता र नैराश्यता , शारीरिक थकान आदि जस्ता कारणले आफ्ना रहरहरु मनमै सीमित गरेर राख्नुपर्छ कि भन्ने हुँदो रहेछ।यस्ता समस्या १,२ जना महिलाको मात्र नभई हजारौं महिलाको हो।होला कतिपय पुरुषले घरको घरको सारा काममा सहयोग गरी साथ हौसला दिनु भएको छ होला।उहाँहरुको साथको उच्च कदर गर्नु नै पर्छ।किनकि बिना साथ सहयोग महिला एक्लै आफ्ना सम्पूर्ण इच्छा,रहर पूरा गर्न असमर्थ छिन।
यस्तै विविध कारणहरूले गर्दा कयौ महिलाहरूले विवाह पछि पढाइ पूरा गरेका छैनन्,पूरा गरे पनि विविध समस्या झेल्न भन्दा जागीर नै नखाई घर गृहस्थीमा मात्र सीमित भएका छन। कुन महिलालाई हुँदैन होला र पढाइ सकी राम्रो जागीर खाई आत्मनिर्भर हुने? सम्पूर्ण परिवारको साथ बिना उनको कयौ इच्छा,रहरहरु मरिरहेका छन्। जबकि एउटी महिला भित्र भित्र पीडित हुन्छिन् ,तब उनी र उनको परिवार बिल्कुलै खुसी,सुखी हुन कदापि सक्दैन। त्यसैले घरको सबै काम महिलाको मात्र हो भन्ने सोच त्यागी सम्पूर्ण परिवार मिलेर गरी एउटी महिलाको आत्मनिर्भर हुने इच्छा पूरा गर्न साथै एक असल गुरुको आफ्नो विद्यार्थी प्रतिको चाहना पूरा गर्न सम्पूर्ण परिवारले साथ,सहयोग र उत्प्रेरणा दिइ खुसी अनि खुसी परिवारको निर्माण तर्फ लागौं।
Comments
Post a Comment