"मयुरको प्वाँखले लेख्न मिल्छ ममी?"बाबुले सोध्यो।
"मिल्दैन बाबु"।आफ्नै धुनमा मोबाइल चलाई राखेको थिए त्यति मात्र उत्तर दिए।
"मैले हेरेको गीतमा त लेख्न मिल्छ भनेको छ त!"
त्यही बेला सम्झिए उसको मन पर्ने गीत"चिठी त लेखे मयुरको प्वाँखले पठाउन खाम छैन,कान्छीलाई घुम्न लैजाउ की भन्छु गोजिमा दाम छैन"।
"पहिले पहिले कलम,पेन्सिलको आविष्कार भईसकेको थिएन बाबु त्यति बेला मानिसहरुले मयुरको प्वाँखलाई मसीमा चोपेर लेख्ने गर्दथे।अहिले त पेन, पेन्सल बनेको छ,त्यसैले लेख्छन् नी।"
"ममी म पनि मेरो कलरहरु बाट मसी बनाई मयुरको प्वाँखले लेख्छुन एकपटक? छाेराले फेरि प्रश्न गर्यो ।
"ह्या जहिले के के मात्र प्रश्न गर्छ,कहिले के के गर्छु भन्छ कहिले के गर्छु भन्छ,चुप लागि उता गएर खेल,स्कूलको होमवर्क गर, मेरो मोबाइलमा काम छ।"भन्दै छोरालाई गाली गर्दै पठाउँछु।
छोरो मलिन अनुहार बनाउँदै बस्छ।
अचानक सम्झन्छु आफू मनोविज्ञानको बिद्यार्थी,अनि त्यो पाँच बर्षको बालक।पूर्व बाल्यावस्थाको उमेरको स्वभाव न हो अन्वेषण र जिज्ञासा राख्ने ।छोरालाई गाली गर्दै पठाएकोमा ग्लानि महसुस हुन्छ।यो उमेरका बालबालिकाहरु अनेक किसिमका प्रश्नहरू यो कसरी भयो?,किन भयो?,के हो?जस्ता अनेक प्रश्नहरू आफ्नो अभिभावक तथा शिक्षकलाई गर्न चाहन्छन्।जसबाट प्राप्त उत्तरबाट विभिन्न किसिमका सानातिना अन्वेषण गर्न चाहन्छन्।जबकि हामी अभिभावकहरु उनीहरुले चाहिने नचाहिने प्रश्न सोध्यो भनि गाली गरेऊ,फोहोर गर्छ,काम बढाउँछ भनि उनीहरूलाई केही गर्न दिएनौ भने उनीहरुमा भएको जिज्ञासा राख्ने बानीको बिकास कसरी होला खै?उनीहरुले नयाँ सृजनात्मक कार्य, अन्वेषण कसरी गर्लान् खै?मात्र हामी अभिभावक विद्यालयको गृहकार्य राम्रो संग गरिदिए,त्यही पाठ पढिदिए, परीक्षा राम्रो गरिदिए पुग्छ हामीलाई।उनीहरू के चाहन्छन्,उनीहरूको रुचि के छ पटक्कै बुझ्न नखोजी आफ्ना चाहना अनुसार,आफ्नो सजिलो अनुसार उनीहरूलाई बनाउन खोज्छौ,अनि कसरी हुन्छ उनीहरूको सर्वाङ्गीण विकास?
दुई देखि छ वर्ष सम्मको उमेर, पूर्व बाल्यावस्थाको उमेरका बालबालिकाहरु स्वभावले नै जिद्दी गर्ने,छिटो रिसाउने,अरूको इर्श्या गर्ने आदि स्वभावका हुन्छन्। अभिभावकहरुले यो बेला उनीहरसंग गरिएको व्यवहार,पालनपोषण, संरक्षण, उत्प्रेरणा,स्वास्थ्य सेवा,सिकाइ अवसर आदिबाट उनीहरूको सर्वाङ्गीण बिकास हुने हुँदा यो उमेरमा अभिभावकहरुले विशेष ध्यान दिन जरुरी छ।विभिन्न वैज्ञानिकहरुले निकालेको तथ्य अनुसार पनि मानिसको ९०%मस्तिष्क विकास यही उमेर समूहमा हुन्छ भनेका छन्।यस अवस्थामा शारीरिक वृद्धि तथा मस्तिष्क विकास तेज गतिमा हुन्छ।त्यसैले उनीहरूको जिद्दिपन,जिज्ञासा जस्ता समस्यालाई सकारत्मक तरिकाले पहिचान गरी व्यवहार गर्नु अति आवश्यक छ ।
यो उमेर समूह विद्यालय पूर्वको उमेर तथा विद्यालय प्रवेशको उमेर हो।हाल कोरोना भाइरसको त्रासको कारण विद्यालयहरु भौतिक रूपमा सञ्चालन गर्ने अवस्था छैन। नर्सरी, एल.के.जी कक्षामा पढ्ने बालबालिकाहरु विद्यालय जान नपाई अनलाईन कक्षामा मोबाइल र ल्यापटप अगाडि बसी पढ्नु पर्ने अवस्था आएको छ।सानै उमेरदेखि अत्यधिक डिजिटल सामग्रीहरूको प्रयोगले उनीहरूको स्वास्थमा पर्ने समस्या,अविभावक भन्दा यिनै सामग्री संग समय विताउनले एकोहोरोपना लगायतका समस्याहरू देखा पर्दछन्।यस्ता बालबालिकाहरूको भबिस्य कस्तो होला खै?जबकि साथीहरुसंग खेल्ने,रमाइलो गर्ने उमेर एउटा घरबाट अर्को घर सम्म पनि जान नमिल्ने,२वर्ष सम्म विद्यालय जानै नपाउने अवस्था हुँदा,उनीहरुमा सामूहिक भावनाको विकास कसरी होला खै?खेल खेल्न साथी संग भेट हुनै नपाउँदा खेलबाट हुने शारीरिक,मानसिक, संवेगात्मक,विकासको अवस्था कस्तो होला?अविभावकहरु उनीहरूको हरेक प्रश्नको उत्तर दिन नखोज्ने,प्रश्न सुन्दा झर्को मान्ने,दिनमा केही समय दिन नखोज्ने अनि हर समय त्यही मोबाइल ल्यापटप हेर,ज्ञानी भई बस,किताब पढ़,गृहकार्य गर,मलाई डिस्टर्ब नगर आदि जस्ता रुखो उत्तर दिनाले उनीहरुमा कत्तिको मानसिक असर पर्न जाला?यो कुरा एकपटक सोच्नु पर्ने पो होकी?
एकदिन यही उमेर समूहका बालबालिका हरु बिच गफ हुँदा
प्रयास:"जीवन तिमीलाई के हुन मन छ?"
जीवन:"मलाई मोबाइल हुन मन छ।"
प्रयास:"किन नी मोबाइल हुने?"
जीवन:"मेरो ममी बाबाले जति खेरै मोबाइल मात्र हेर्नुहुन्छ। म संग कुरै गर्नुहुन्न,मेरो कुरा नै सुन्नुहुन। जतिखेरै मोबाइल हातमा लिएर बस्नुहुन्छ। म नी बाबा मामीको मोबाइल जस्तै उहाँहरू संगै जति खेरै संगै बस्न चाहन्छु,खेल्न चाहन्छु ।"
छोराले घरमा आई जीवन त मोबाइल बन्न चाहन्छ रे भन्दा मनमा अनेक कुराहरु खेली रहे।हामी अभिभावक काम,पैसा भन्दा भन्दै छाेरा छोरीका इच्छा चाहनाहरु माथि त खेलवाड गरिरहेका त छैनौं लाग्छ।जबकि आफ्ना अभिभावकले आफ्नो कुरा सुन्दैनन् भन्ने उनीहरूको मनमा परेपछि उनीहरू आफ्नो कुरा भनेनि सुन्दैनन् किन भन्ने भन्दै बाबु आमा संग केही कुरा नभन्ने,साथीहरु संग मात्र घुलमिल हुन खोज्ने गर्दा दीर्घकालीन रूपमा अभिभावकहरुसंग बोल्दै नबोल्ने सम्मको उदाहरणहरु प्रशस्त भेटिन्छन्।खाना,लगाउन र शिक्षा दिक्षा दिँदैमा अभिभावकको कर्तव्य पूरा होला त?
साथै परिवारका सदस्यहरु र साथीहरुको बोली व्यवहार नक्कल गर्ने उमेर भएको हुँदा अभिभावकले बालबालिकासंग नम्र र शिष्ट भाषाको प्रयोग गर्ने,आफूसंगै व्यक्तिगत सरसफाइ आफै गर्न लगाउने,आफ्नो कपडा,किताब कापी लगायतका सामानहरूको सही ठाउँमा व्यवस्थापन गर्न सिकाउने,परिवारका सदस्यलाई सकेको सहयोग गर्न लगाउने जस्ता कार्यमा सरिक गराउनाले स्वाबलम्भि बन्ने,व्यवहारिक हुने जस्ता क्षमताको विकास हुने गर्दछ।साथै उक्त कार्यमा समय विताउन ले मोबाइल र ल्यापटपमा जति खेरै झुण्डी राख्ने प्रवृत्तिको कमी हुन जान्छ।
अभिभावकहरुले उनीहरूको मनोभावना बुझी दिनमा जतिनै व्यस्त भएपनि केही समय उनीहरूको कुरा, जिज्ञासा सुन्दिने,उनीहरसँग खेलिदिने,मनोरञ्जनात्मक कार्यमा सहभागी भइदिने,मोबाइल र ल्यापटप को फाइदा र बेफाइदा बारे बताइदिने, आदि जस्ता कार्यले आफ्नो पनि तनाव काम हुने,पारिवारिक सम्बन्ध पनि राम्रो हुने साथै पूर्व बाल्यावस्थाका बालबालिकाको सर्वाङ्गीण विकासमा धेरै भन्दा धेरै टेवा पुग्ने देखिन्छ।
लेखक प्रतिमा अधिकारी,श्री त्रिभुवन शान्ति नमूना मा.वि मा अध्यापनरत शिक्षक हुन।

Comments
Post a Comment